म्युनिखमा ‘साहित्य सार’ सम्पन्न २०८३ साउन १६ गते, शनिबार
← कार्यक्रमहरू
गोष्ठीव्यक्तिगत

म्युनिखमा ‘साहित्य सार’ सम्पन्न २०८३ साउन १६ गते, शनिबार

२०२६ अगस्ट १, शनिबार· Munich

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टर र नेपाली रुट्स e.V. को सहकार्यमा म्युनिखमा ‘साहित्य सार’ सफलतापूर्वक सम्पन्न भयो।

प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा ‘प्रवासमा नेपाली भाषा र साहित्य: चुनौती, अवसर र नयाँ पुस्ता’ विषयमा प्यानल छलफल गरिएको थियो। छलफलमा मातृभाषाको संरक्षण, पुस्तान्तरण, प्रवासमा साहित्य सिर्जनाका सम्भावना तथा चुनौतीबारे विचार आदानप्रदान भएको थियो।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र नेपाली भाषामा उहाँको योगदानबारे परिचर्चा गर्नुका साथै कविता, गीत, गजल, मुक्तक वाचन तथा साहित्यिक हाजिरीजवाफ आयोजना गरिएको थियो। कपिल अर्यालले गजलको आधारभूत संरचना र लेखनसम्बन्धी छोटो जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

अनेसास जर्मनी, नेपाली रुट्स e.V. तथा नेपाली परिवार e.V. ले आफ्ना उद्देश्य, गतिविधि र भावी योजनाबारे संक्षिप्त प्रस्तुति दिँदै प्रवासमा नेपाली भाषा, साहित्य र समुदायको विकासका लागि संस्थागत सहकार्यको महत्व उजागर गरेका थिए। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सर्जक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको आरम्भमा समाजसेवी कृष्ण शर्मा रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। धन्यवाद ज्ञापन नेपाली रुट्सका अध्यक्ष कृतन गौतमले गर्नुभएको थियो भने कार्यक्रमको औपचारिक समापन अनेसास जर्मनीकी अध्यक्ष सीमा ढुंगानाले गर्नुभएको थियो।

प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण, पुस्तान्तरण तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउने दिशामा ‘साहित्य सार’ महत्वपूर्ण साहित्यिक पहलका रूपमा सम्पन्न भयो।