सृष्टिको रचनामा प्रकृतिको कति मिठो वास छ,
अनन्त आकाश मा नीलो रंग को अर्थ-बहाक सुवास छ।
गहिराइमा राप भए पनि सतहमा शीतल हावा अनि हामीले फेर्ने सास छ,
आफू जलेर दिएको सूर्यको प्रकाश, पृथ्वीमा आलौकिक ऊर्जाको आभास छ।
तर आज समुद्र रिसाउँदै चेतावनी दिन थालेको छ,
हिमाल तातेसँगै जलेको हिउँको चिक्कार सुनिन थालेको छ।
मानिष! तिम्रो अविराम इच्छाहरूको भारले पृथ्वीको मेरुदण्ड चर्किरहेछ।
तर अझै पनि प्रकृतिले तिम्रो चेतनामा उज्यालो प्रकाश पर्खिरहेको छ।
प्रकृतिको बोली बुझ्ने प्रविधि भए ब्रह्माण्डको आवाज स्याटेलाइटमा तरंगित हुन्थ्यो होला।
अनि त्यो चेतना को स्पन्दन हाम्रो हृदयको हेडफोन ले पनि सुन्थ्यो होला।
गगनको निश्चलतमा गुञ्जिने संगीतले मानव जातिको अन्तरआत्मा छुन्थ्यो होला।
अध्यात्म र विज्ञानको स्वर एउटै हुन्थ्यो होला, मन ले समयका कणहरू संग अन्तरङ्ग सम्बन्ध बुन्थ्यो होला।
प्रविधिको दूरी प्रकृति संग थोरै हुन्थ्यो होला, आहा! धरती अनि आकाश कति खुसी हुन्थ्यो होला।
अनि फेरि प्रकृतिले भविष्य बुन्थ्यो होला, आहा! भोलि आउने सन्ततिलाई पनि शीतलता ले छुन्थ्यो होला।
