चिसोले निमोठिएका रुखहरुमा
मुना पलाउन आँटेजस्तै,
हरेकपल्ट
केहि ऋतुपछि उसको मनमा पनि
आशाका टुसाहरु पलाउँछन्।
नाम्लोले खुइलिएको तालुलाई
उद्रिएको टोपिले छोपेर,
फुटेका कुरकुच्चाहरुले केहि माइल नापेर,
ऊ हरेकपल्ट एउटा भिडमा मिसिन्छ।
अनि हरेकपल्ट सुन्छ—
वेस्वादे विद्वानहरू,
दूषित सिद्धान्तहरू,
काँचो सान्त्वनाहरू,
थेलिडोमाइड खाएकी गर्भिणीले जन्माएजस्ता
लुला–लङ्गडा वाचाहरू।
वाकवाकि लागेको ह्रिदय लीएर
फर्किन्छ ऊ
अनि थन्काईदिन्छ आशाहरु
थोत्रो मधुसमा,
जहाँ पुस्तैनि टुटेफुटेका आशाहरु
सङ्ग्रहित छन्।
आजपनि ऊ जानेछ त्यसरी नै,
त्यसरी नै फर्किनेछ
आशाका अस्थिपञ्जर बोकेर।
आज पनि साँझ उसले
आफ्नो पेटलाई बयान दिनुपर्नेछ।
आज पनि उसका ओदानका पाइतालाहरूले
भुङ्ग्रो सेक्न पाउने छैनन्।
