← साहित्य
कविता

पाइला बराबरको

— सीमा ढुंगाना

न भनेउ प्रेम कस्तो हो, न सके बुझ्न मईले

देखिन्न मिलाप आत्मीय, देखाउन लाज जहिले

अछुत छुत भन्नेलाई, छुवाई के हो भनेनौ

जलाप जीवन रहेछ, रुवाई के हो भनेनौ


चिरेर बग्यो वदन, रगत गोठमा लुकायौ

घर र गोठ संसार, लुकाउन मात्रै सिकायौ

हासेर बोल्ने बानी छ, के गरौं बात लाग्दथ्यो

योनीमा इज्जत जोडियो, जे गरौं दाग लाग्दथ्यो


सत्तरी बर्से बुढोलाई, सात बर्से गोमा दान भो रे

छोरीको जीवन दान न हो, चुला र चौका सान हो रे

विवेकी कुरा गरेमा, पर्दछ दैलामा काटिनु

पोई मरेकी त बोक्सी भै, छ आफ्नै लादि चाटिनु


माटोको घैलो तँ छोरी, जोडिन्न इज्जत फूटेमा

धाउने हैन माईत, लोग्नेले घरमा कुटेमा

दिए त बा ले शिक्षा नि, दाजु र मलाई एउटै

बालौला दियो ज्ञानको, कुलको देउता दुईटै



पृथक हाम्रो विचार, फरक हाम्रो भावमा

दिवार बन्यो ठूलो नै, बुझाउने बुझ्ने माझमा

परी र पूरक तिमी म, बसेर बात भएन

आआफ्नो विचार विवेकले, गरियो भ्रम चयन


मेटिए २–४ उखाना, फेरिए पाना वेदको

स्वार्थको जालो दलेर, नधोए दिमाग भेदको

चढौला धुरी म पनि, उ लिप्छ दैलो घरको

गन्तव्य आखिर एउटै पाईला बराबरको