अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स e.V. को सहकार्यमा आयोजित “साहित्य सार"
← समाचार

२०२६ अगस्ट १

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स e.V. को सहकार्यमा आयोजित “साहित्य सार"

म्युनिख, जर्मनी, १ अगस्ट। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स e.V. को सहकार्यमा आयोजित “साहित्य सार २०२६—नेपाली साहित्यिक भेटघाट” म्युनिखस्थित EineWeltHaus मा सम्पन्न भएको छ।
कार्यक्रमको प्रारम्भमा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जर्मनीका पूर्व केन्द्रीय सदस्य, समाजसेवी तथा मिलनसार व्यक्तित्वका धनी स्वर्गीय कृष्ण शर्मा रिजालप्रति श्रद्धाञ्जली अर्पण गरेर कार्यक्रको औपचारिक शुभारम्भ गरीएको थियो।
अनेसास जर्मनीकी अध्यक्ष सिमा ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्दै प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले साहित्यलाई पुस्ता, समुदाय र विचार जोड्ने साझा सेतुका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा “प्रवासमा नेपाली भाषा र साहित्य: चुनौती, अवसर र नयाँ पुस्ता” विषयमा प्यानल छलफल सम्पन्न भएको थियो। छलफलमा प्रवासमा नेपाली भाषा संरक्षण, नयाँ पुस्तासम्म यसको हस्तान्तरण, साहित्य सिर्जनाका अवसर तथा चुनौतीबारे सार्थक विचार आदानप्रदान गरिएको थियो।
यसैगरी, आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र नेपाली भाषामा उहाँको योगदानबारे छोटो परिचर्चा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कविता, गीत, गजल तथा मुक्तक वाचन, साहित्यिक हाजिरीजवाफ सम्पन्न भएको थियो। साथै, कपिल अर्यालले गजलका आधारभूत संरचना तथा गजल लेखनका केही आधारभूत पक्षबारे छोटो जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमको क्रममा अनेसास जर्मनी, नेपाली रुट्स e.V. तथा नेपाली परिवार e.V. Bodensee ले आफ्ना संस्थाको उद्देश्य, गतिविधि तथा भावी योजनाबारे संक्षिप्त परिचयात्मक प्रस्तुति दिएका थिए। यसले सहभागीहरूलाई संस्थाहरूबीचको सहकार्य तथा प्रवासमा नेपाली भाषा, साहित्य र समुदायको विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको थियो।
कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाको उल्लेखनीय संस्थागत सहभागिता रहेको थियो। हिमालयन परिवार e.V. म्युनिखका उपाध्यक्ष हरिबोल हुमागाईं, **गुरुङ परिवार e.V.**का अध्यक्ष राम गुरुङ, नेपाली परिवार e.V. Bodenseeका अध्यक्ष कुमार तिवारी, NRNA LCC Bayernका संयोजक अनूज श्रेष्ठ तथा Nepalese Football Team (NFT) e.V. Munich का अध्यक्ष डा. चुडामणि चटौत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, स्रष्टा, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुका साथै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई नेपाली भाषासँग जोड्ने विषयमा आफ्ना अनुभव र विचार आदानप्रदान गरेका थिए। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले नेपाली समुदायबीच आत्मीयता, सहकार्य र सिर्जनात्मक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको धन्यवाद ज्ञापन नेपाली रुट्स e.V. का कृतन गौतमले गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी संघसंस्था, स्रष्टा, स्वयंसेवक तथा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको औपचारिक समापन अनेसास जर्मनीकी अध्यक्ष सिमा ढुङ्गानाले गर्नुभएको थियो।
अनेसास जर्मनीले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म यसको निरन्तरता कायम राख्न यस्ता साहित्यिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।