
अनेसास साहित्यिक समारोह जर्मनी सम्पन्न २०८० पुस २९ गते, आइतबार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरको पहिलो भौतिक कार्यक्रम “अनेसास साहित्यिक समारोह जर्मनी” २०८० पुस २९ गते (१४ जनवरी २०२४) सफलतापूर्वक सम्पन्न भयो।
जर्मनीका विभिन्न स्थानमा रहेका नेपाली भाषा तथा साहित्यप्रेमीहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित समारोहमा २४ भन्दा बढी सर्जकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कविता, गीत, गजललगायत विविध साहित्यिक सिर्जनाहरू प्रस्तुत गरिनुका साथै समसामयिक साहित्यिक विषयमा केन्द्रित दुई विमर्श समेत आयोजना गरिएको थियो। अनेसास जर्मनीका लागि यो कार्यक्रम संस्थागत यात्राको महत्वपूर्ण सुरुवात रह्यो, जसले विभिन्न स्थानमा रहेका नेपाली सर्जक, साहित्यप्रेमी तथा शुभेच्छुकहरूबीच प्रत्यक्ष भेटघाट, साहित्यिक संवाद र सहकार्यको वातावरण निर्माण गर्यो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न व्यक्ति तथा संस्थाबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो। कार्यक्रमको खानपान व्यवस्थापन तथा कार्यक्रमस्थलको व्ययभार Nepali Kitchen Gasthof Hirsch का देव खड्काले ग्रहण गर्नुभएको थियो। कार्यक्रमस्थल तथा चियालगायत पेय पदार्थ व्यवस्थापनमा प्रज्वल सत्याल लगायतका साथीहरू, ध्वनि व्यवस्थापनमा अगम राई, फोटो तथा भिडियो अभिलेखीकरणमा मञ्जिल श्रेष्ठ, कीर्तन गौतम र कपिल अर्याल, ब्यानर व्यवस्थापनमा आकांक्षा कँडेल र लोकनाथ कँडेल, डिजिटल ब्यानर निर्माणमा कपिल अर्याल तथा मञ्च सजावटमा उज्ज्वल ढकाल लगायतका सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको थियो।
स्टुटगार्टमा अनेसास जर्मनीको पहिलो भौतिक कार्यक्रम आयोजना गर्न सहयोग गर्नुका साथै संस्थाको गठनकालदेखि नै कार्यसमितिबाहिर रहेर निरन्तर साथ र सहयोग प्रदान गर्दै आउनुभएका अनेसास जर्मनी च्याप्टरका आजीवन सदस्य मनोजबाबु पनेरुको योगदानसमेत विशेष स्मरणीय रह्यो।
समारोहका अवसरमा सर्जक सागर फुयालका “अँजुलीमा थाप्न पाए” र “आफैँलाई खोज्न मन छ”, लीलाराज कार्कीको “क्षितिज पारिको बस्ती” तथा खड्ग न्यौपानेको “सारङ्गी रेटौँलाको” कृतिको बिक्रीबाट संकलित रकम सम्बन्धित सर्जकहरूले अनेसास जर्मनीलाई सहयोगस्वरूप प्रदान गर्नुभएको थियो। अनेसास जर्मनी उहाँहरूको यस साहित्यिक तथा संस्थागत सद्भावप्रति हार्दिक आभार व्यक्त गर्दछ।
पहिलो भौतिक कार्यक्रमका रूपमा सम्पन्न “अनेसास साहित्यिक समारोह जर्मनी” ले जर्मनीमा नेपाली भाषा, साहित्य र सिर्जनात्मक संवादलाई थप व्यवस्थित रूपमा अगाडि बढाउने यात्रामा महत्वपूर्ण आधार निर्माण गरेको छ। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण सर्जक, साहित्यप्रेमी, अतिथि, सहयोगी तथा शुभेच्छुकहरूप्रति अनेसास जर्मनी परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
