ए देउता हो !
कसरि मिल्छौ हौ आकासमा?
को को जान्छौ
संग-संगै मर्निङ्ग वाल्क ?
कसरि मिलाउँछौ?
मुभिज नाइट
गेट टुगेदर
बर्थडे पार्टि
अनि कसरि
भागा लगाउँछौ हिसाबकिताब?
दुखाउँछौ तिमिहरु पनि
कोसेलिको अपुर्णतामा चित्त?
कि माथि छौ
सुख सयलभन्दा तिमिहरु?
यता त सकस पो छ त
मर्निङ्ग वाकमा
चौडा सडकका बाबजुत
ठोक्किरहेका छन टाउकाहरु
स्वयंसुखका खातिर
च्यातिरहेकाछन मान्छेहरु
अरु कसैका प्रेम-पत्र
सिर्फ,
एक साँझको जाडो कटाउन
झोसिरहेको छ मान्छे
कसैको भबिष्यमा अगुल्टो
ए देउता हो
अभाब हुन्छ तिम्रा तिर पनि ?
जस्तै,
ग्याँस सिलिन्डर
पानी,
रोजगारि
कि बाँड्छौ पो तिमिहरु
बिहानको मधुमास
तर किन मान्छेहरुलाई छेक्नुछ
अरुको आँगनको घाम ?
किन घचेड्नुछ
एउटै गुँणको दोश्रो बचेरो?
किन सिर्फ प्रतियोगिताका लागि
तृषित ओठमा,
दल्नुछ लिपिस्टिकको मलम?
ए देउता हो !
कसरि हेर्छौ हौ ऐना ?
हरेक प्रतिबिम्ब
अपुर्ण देखिन्छन यतातिर
