← Events
WorkshopOnline

१५९ औँ मोती जयन्ती विशेष अनलाइन साहित्यिक कार्यक्रम सम्पन्न २०८२ भदौ १२ गते, बिहीबार

Thursday, 28 August 2025· online

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरले १५९ औँ मोती जयन्तीका अवसरमा विशेष अनलाइन रचना वाचन तथा साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्‍यो।

मदन पुरस्कार विजेता कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जर्मनी, फ्रान्स, बेल्जियम, पोर्चुगल, बेलायत, नेदरल्यान्ड्स, नर्वे र रोमानियालगायत युरोपका विभिन्न मुलुकबाट सर्जक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। दुई दर्जनभन्दा बढी सर्जकहरूले कविता, गजल, मुक्तक र हाइकुलगायत विविध विधामा आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा अनेसास जर्मनीका सल्लाहकार खड्ग न्यौपानेले युवाकवि मोतीराम भट्टको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा उहाँको योगदानबारे विशेष प्रस्तुति दिनुभएको थियो। समापन सत्रमा डा. लम्सालले साहित्यमा बिम्बको प्रयोग, लेखनको गहिराइ, मौलिकता तथा सिर्जनात्मक धैर्यको महत्वबारे आफ्ना विचार राख्दै सर्जकहरूलाई निरन्तर साधनाका लागि प्रेरित गर्नुभएको थियो। युरोपका विभिन्न मुलुकमा रहेका नेपाली सर्जक तथा साहित्यप्रेमीहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्दै सिर्जनात्मक आदानप्रदान र नेपाली साहित्यको प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यो कार्यक्रम अनेसास जर्मनीको साहित्यिक यात्राको महत्वपूर्ण गतिविधिका रूपमा सम्पन्न भयो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सर्जक, साहित्यप्रेमी, प्राविधिक सहयोगी तथा शुभेच्छुकहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।