बर्लिनमा ‘नेपाली साहित्य’ कार्यक्रम तथा अनेसास अनलाइन लाइब्रेरीको उद्घाटन २०८३ असार १३ गते, शनिबार
← Events
SymposiumIn person

बर्लिनमा ‘नेपाली साहित्य’ कार्यक्रम तथा अनेसास अनलाइन लाइब्रेरीको उद्घाटन २०८३ असार १३ गते, शनिबार

Saturday, 27 June 2026· Berlin

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरले बर्लिनस्थित नेपाली राजदूतावासमा ‘बर्लिनमा नेपाली साहित्य’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्‍यो। कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट साहित्यकार, सर्जक, वैज्ञानिक, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली भाषा–साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अनेसास जर्मनीकी अध्यक्ष सीमा ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको विधानमाथि छलफल गरी अनुमोदन गरिएको थियो। सोही अवसरमा नेपाली साहित्यका कृति तथा सिर्जनालाई डिजिटल माध्यमबाट विश्वभरका पाठकमाझ पुर्‍याउने उद्देश्यसहित ‘अनेसास अनलाइन लाइब्रेरी’को डिजिटल उद्घाटन तथा औपचारिक घोषणा गरिएको थियो।

कार्यक्रममा अनेसास जर्मनीको विगत, वर्तमान तथा भावी कार्यदिशाबारे प्रस्तुति दिइनुका साथै नेपाली भाषा, साहित्य, इतिहास र संस्कृतिसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा रचनावाचन आयोजना गरिएको थियो। विभिन्न सर्जकहरूले कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका अवसरमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागर फुयाललाई सम्मान गरिएको थियो।

नेपाली साहित्यलाई डिजिटल माध्यमसँग जोड्ने, नयाँ पुस्तासम्म पुर्‍याउने तथा जर्मनीमा साहित्यिक सहकार्य विस्तार गर्ने दिशामा ‘बर्लिनमा नेपाली साहित्य’ कार्यक्रम अनेसास जर्मनीको संस्थागत यात्राको महत्वपूर्ण पहलका रूपमा सम्पन्न भयो।

कार्यक्रमलाई सफल बनाउन सहभागिता, साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण अतिथि, सर्जक, साहित्यप्रेमी, संघ–संस्थाका प्रतिनिधि तथा सहयोगीहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।